इलामका ८८ उद्यमीलाई एक करोड ८७ लाख रुपैयाँ सहुलियत ऋण
बिर्तामोड, ३ कात्तिक ।
इलाम नगरपालिकाले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराएपछि महिलाहरू कृषि, पशुपालन, तरकारी खेती र घरेलु उद्योगमार्फत आत्मनिर्भर बन्न थालेका छन् ।
नगरपालिकाको उद्यमी तथा रोजगार सिर्जना कार्यक्रमअन्तर्गत हालसम्म ८८ जनालाई एक करोड ८७ लाख पाँच हजार रुपैयाँ ऋण उपलब्ध गराइएको छ। पाँच प्रतिशत ब्याजदरमा ५० हजारदेखि तीन लाख रुपैयाँसम्म ऋण पाएपछि महिलाहरूले विभिन्न व्यवसाय सञ्चालन तथा विस्तार गरिरहेका छन् । इलाम नगरपालिका–९ की रत्नमाया सार्कीले ऋण लिएर बाख्रापालन व्यवसाय विस्तार गर्नुभएको छ । उहाँको फार्ममा अहिले १४ वटा बाख्रा छन् । त्यस्तै, वडा नम्बर ३ की राधिका पौडेलले गाई तथा बाख्रापालनबाट नियमित आम्दानी गर्दै आउनुभएको छ । उहाँले दैनिक ३० देखि ३५ लिटर दूध उत्पादन गरी बिक्री गर्ने गर्नुभएको छ । नगरपालिकाका अनुसार महिलाहरूले तरकारी खेती, मौरीपालन, सिलाइकटाइ, हस्तकला, खाद्य प्रशोधन तथा घरेलु उद्योगमा समेत सहुलियत ऋण उपयोग गरिरहेका छन् । नगरपालिका उपप्रमुख विष्णुकुमारी लिम्बुले स्थानीय उत्पादन वृद्धि, आयआर्जन र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभएको छ । यसैगरी, गत आर्थिक वर्षमा २७ जना उद्यमी, समूह, सहकारी तथा संस्थालाई १९ लाख ९५ हजार ६ सय रुपैयाँ अनुदानसमेत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।











प्रतिकृया दिनुहोस