भोजपुरको कोप्चेदेखि बराहक्षेत्रसम्म जेटबोट सेवा पुनः सञ्चालन
बिर्तामोड, ३ कात्तिक ।
दसैँ मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवतजावत गर्ने यात्रुलाई सहज बनाउन भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराहक्षेत्रसम्म जेटबोट सेवा पुनः सञ्चालनमा आएको छ ।
अरुण र दूधकोशी नदीमा पानीको बहाव बढेपछि गत जेठ अन्तिमदेखि बन्द रहेको जलयात्रा आइतबारदेखि सुरु गरिएको हो ।
जेटबोट सञ्चालनमा आएसँगै दक्षिणी भोजपुरका स्थानीयको आवागमन सहज हुने भएको छ । यसअघि चतरा पुग्न तीनदेखि चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेकामा अब करिब १९ किलोमिटर दूरी जेटबोटमार्फत २० देखि २५ मिनेटमै पार गर्न सकिनेछ । स्थानीय व्यवसायी मिलन राईका अनुसार कोप्चेदेखि बराहक्षेत्रसम्मको भाडा प्रतियात्रु पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।
दक्षिणी भोजपुरका बासिन्दाले यही जलमार्ग प्रयोग गरी धरान, इटहरी र विराटनगरलगायतका सहरमा आवतजावत गर्दै आएका छन् ।
हतुवागढी गाउँपालिकाले जलयात्रालाई पर्यटनसँग जोडेर स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य लिएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जेटबोट सेवाले आवागमन सहज बनाउनुका साथै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभएको छ ।









प्रतिकृया दिनुहोस