‘१६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तारलाई विशेष जोड’ 

विर्तामोड, १३ बैशाख ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको दाबी गर्नुभएको छ ।
आज राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यवसायिकीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताउनुभयो । आर्थिक समृद्धिको संवाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात् गर्दै सहकारी, सामुदायिक एवम् गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको उल्लेख गर्दै उहाँले सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुनेगरी योजना तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउनका लागि सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकार, निजी क्षेत्र, सहकारी र विकास साझेदारलगायतका सबैको सहकार्य र प्रभावकारी समन्वयबाट योजनाले लिएको औसत आर्थिक वृद्धि हासिल हुनुका साथै अन्य सामाजिक तथा पर्यावरणीय लक्ष्य हासिल हुनेमा आफू आसावादी रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा पूर्वअर्थमन्त्री डाक्टर प्रकाशशरण महतले देशको आर्थिक विकासमा प्राथमिकता प्राप्त आयोजना छनोट गरेर जानुपर्नेमा जोड दिँदै आयोजना छनोट र बजेट विनियोजनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडाले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गएको उल्लेख गर्दै कम लगानीबाट बढी प्रतिफल लिने नीति अख्तियार गर्न सुझाव दिनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले आयोगलाई सबल बनाउन सकेको खण्डमा मात्र १६ औँ योजनाका रणनीति र कार्यनीति कार्यान्वयनका लागि सहज हुने धारणा व्यक्त गर्नुभयो । ००००००
 

प्रतिकृया दिनुहोस