सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नहरू समाधान गर्न प्रधानमन्त्री दाहालको निर्देशन 

बिर्तामोड, २४ बैसाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गर्नुभएको छ ।
आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गर्नुभएको हो ।
छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “सवारी चालक अनुमतिपत्रका बारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन् । यसमा जनताले गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ । खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन् । लाइसेन्स जसरी वितरण हुनुपर्थयो, त्यस्तो भएको छैन । नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु । यो समस्या तत्काल समाधान गर्नुस् ।”
छलफलमा उहाँले लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न समेत निर्देशन दिनुभयो । ००००००
 

प्रतिकृया दिनुहोस