कसैको पहिचान मिचिएको पाइएमा आफ्नै ल फर्मबाट निःशुल्क मुद्दा लड्ने नव निर्वाचित सांसद नेम्बाङको घोषणा

बिर्तामोड, १८ बैशाख ।
इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सुहाङ नेम्बाङले कसैको पहिचानको हक मिचिएको पाइए आफ्नो ‘ल फर्म’बाट निशुल्क मुद्दा लड्ने घोषणा गर्नुभएको छ।
आज निर्वाचित भएपछि सदरमुकाम इलाम बजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
‘सबै पहिचानको हक र अधिकार सुनिश्चित गर्ने संविधान छ । कतै अधिकार मिचिएको छ भने म मेरो ल फर्मबाट निःशुल्क मुद्दा लड्नेछु,’ नेम्बाङले भन्नुभयो।
प्रतिनिधिसभा सदस्य निर्वाचित सुहाङ नेम्बाङले उहाँले आफूले इमानदारीतापूर्वक काम गर्ने बताउँदै इलामेली जनताको शिर नझुकाउने बताउनुभयो ।
अग्रजले एउटा विकासको बाटो बनाइदिएको भन्दै अब त्यसलाई पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उहाँले बताउनु भयो । 
‘कसैलाई नराम्रो  नदेखाएर, मिलेर विकास निर्माणको अभियानमा लागेका छौँ । यो देख्दा मलाई खुसी लागेको छ,’ उहाँले भन्नुभयो ।    
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा सांसद नेम्बाङले इलामेली मतदातालाई कुनै प्रकारको सङ्कोच नुहुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 
“म मेरो बुबा (सुवासचन्द्र नेम्बाङ) को अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामे जनतालाई कुनै सङ्कोच नहुने गरी काम गर्नेछु,” उहाँले भन्नुभयो, “मलाई निर्वाचित गराउनुभएकामा सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्दछु ।”
कार्यक्रममा सांसद नेम्बाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा सांसद  महेश बस्नेत, कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।  ००००००००

प्रतिकृया दिनुहोस