इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले चुनाव जित्ने अध्यक्ष ओलीको ठहर 

विर्तामोड, १२ बैशाख ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलामको क्षेत्र–२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले चुनाव जित्ने बताउनु भएको छ । 
आज इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले इलामबाट सुहाङ नेम्वाङले चुनाव जित्ने बताउनु भएको होे ।
अध्यक्ष ओलीले इलाम क्षेत्र नम्बर २ मा एमालेले अगाडि सारेको, माओवादी केन्द्र, नेकपा र परिवार दलको साझा उम्मेदवार सुहाङ्ग विजयी हुने निश्चित भएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘इलामेली जनताको आत्मविश्वासले सुहाङ नेम्वाङको जीत निश्चित छ, इलाम–२ मा के होला भनेर चिन्ता लिनु पर्ने स्थिति छैन, उहाँले जित्नु हुन्छ ।’
२०४८ र २०५१ सालमा एमालेले चुनाव लडे जस्तो समय नभएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम्युनिस्टले चुनाव जित्यो भने ६० वर्ष माथिकालाई गोली हानेर मार्छन् भनेर प्रचार गर्थे, तर एमालेले जितेपछि घरमा भत्ता लिएर पुग्न थाल्यो ।’ 
अध्यक्ष ओलीले एमाले देश बनाउने पार्टी भएको बताउनुभयो । चुलाचुलीमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउनको लागि निर्णायक राष्ट्रिय शक्ति चाहिने बताउनुभयो । सधैँ गठबन्धनले देश नबन्ने अध्यक्ष ओलीको धारणा छ । त्यसैको लागि नेकपा एमालेले मिसन २०८४ भनेको उहाँले बताउनुभयो । ‘देश बनाउने हो भने मिसन २०८४ चाहिन्छ’, उहाँले भन्नुभयो ।
देश लगातार ओरालो लागेकोले त्यसलाई रोक्न नेकपा एमालेले नयाँ समीकरण बनाएको अध्यक्ष ओलीले बताउनुभयो । ‘पहिरो गएको गएकै भयो देशमा, तीन वर्षदेखि पहिरो गएकै गए भयो’, अध्यक्ष ओलीले भन्नुभयो ।
सुदृढ राष्ट्रिय शक्ति निर्माणको लागि आजैबाट काम थाल्नु पर्नेमा उहाँले जोड दिनुभयो । देश बिग्रन दिनु नहुने बताउँदै अध्यक्ष ओलीले देश आफैँले बनाउनु पर्ने स्पष्ट पार्नुभयो ।
उहाँले भावनामा बगेर देश नबन्ने बताउनुभयो । भावनामा अनेक थरी कुरा गरेर देश अघि नबढ्ने उहाँले स्पष्ट पार्नुभयो । विद्वेष र घृणा फैलाएर देश विकास गर्न नसकिने उहाँले बताउनुभयो । पहिचान विरोधी कोही नभएको बताउँदै अध्यक्ष ओलीले पहिचानको नाममा सामाजिक सद्भाव नभड्काउन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले अबको दुनियाँमा कसैले कसैलाई ढाँट्न नसक्ने बताउनुभयो । विगतमा कम्युनिष्टले बुढा बुढीलाई गोली हान्छन् भन्नेसम्मका भ्रम फैल्याएको बताउँदै कम्युनिष्टले त्यसलाई चिरेर सामाजिक हितको काम गर्दै अघि बढेको ओलीले प्रष्ट पार्नुभयो ।
कम्युनिष्टले समृद्धि होइन गरीबी बाँड्छन् भन्ने भ्रम फिँजाउनेको जवाफ पनि एमालेले दिएको ओलीले बताउनुभयो । कम्युनिष्टले एक पटक मौका पायो भने देश विकासको काम कसरी गर्छ भन्ने कुरा प्रमाणित गरेर देखाइदिएको अध्यक्ष ओलीले उदाहरण दिनुभयो । एमालेको पालामा कैयौं पूर्वाधार निर्माण र सामाजिक विकासका काम भएको अध्यक्ष  ओलीले बताउनुभयो ।
पहिचानका कुरा गर्नेलाई जनजातिको छोरालाई कसले संविधानसभा अध्यक्ष, सभामुख र मन्त्री बनायो ? भन्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । पहिलो पटक सेना चलाउने रक्षा मन्त्री र राष्ट्रपति महिला बनाउने पार्टी कुन हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘नेकपा एमाले समानताको कुरा गर्दछ, सबैलाई समान अवसरको कुरा गर्दछ’, अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले आजको प्रमुख समस्या गरीबी भएको बताउँदै गरीबी निवारण अबको प्रमुख काम भएको बताउनुभयो । आफ्नो पालामा ९ लाख मानिसलाई गरीबीको रेखामुनिबाट माथि उठाउने काम गरेको अध्यक्ष ओलीले स्मरण गराउनुभयो । ठेक्का लिएको काम समेत समयमा पुरा गर्न नसक्नेहरूले देश बनाउने कुरा गरेको भन्दै उहाँले उनीहरूबाट आशा गर्न नसकिने अध्यक्ष ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले एमालेले देशलाई नयाँ युगमा प्रवेश गराएको बताउनुभयो । सुरुङ मार्ग र द्रुत मार्ग निर्माण गरेर एमालेले देशलाई नयाँ युग तर्फ लगेको उहाँले उल्लेख गर्नुभयो । नेकपा एमाले काम गरेर देखाउने पार्टी भएको अध्यक्ष ओलीले बताउनुभयो । ००००००
 

प्रतिकृया दिनुहोस