नेकपाद्वारा दुईमहिने राष्ट्रिय जागरण अभियान घोषणा 

काठमाडौँ, ७ कात्तिक । 
नेपाली कम्युनिस्ट पार्टीले विगतका कामको समीक्षा गर्दै आफ्ना कमजोरी सच्याएर जनताको विश्वास बलियो बनाउने प्रतिबद्धतासहित दुईमहिने राष्ट्रिय जागरण अभियान घोषणा गरेको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपिल जारी गर्दै कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिनुभएको हो । उहाँले पार्टी जनतामुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी हुँदै गएको यथार्थ स्वीकार गर्दै किसान, मजदुर, श्रमजीवी तथा उत्पीडित समुदायसँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
अभियानका क्रममा पार्टीका नेताकार्यकर्ताले गाउँ, वडा र टोलसम्म पुगेर जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्नेछन् । महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, सार्वजनिक सेवामा ढिलासुस्ती तथा वैदेशिक रोजगारीका समस्याबारे तथ्य सङ्कलन गरी समाधानका लागि सम्बन्धित निकायमा पहल गरिने अपिलमा उल्लेख छ ।
नेपाली कम्युनिस्ट पार्टीले वर्तमान सरकारको आलोचना गर्दै नागरिक स्वतन्त्रता, लोकतान्त्रिक संस्था र राजनीतिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप पनि लगाएको छ । 
त्यसैगरी, रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार र राहतमा भएको ढिलाइप्रति आपत्ति जनाउँदै विस्थापित परिवारको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तीव्रता दिन सरकारसँग माग गरेको छ ।
पार्टीले राष्ट्रिय स्वाधीनताको रक्षा, संगठन सुदृढीकरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई अभियानको प्रमुख उद्देश्य बनाएको जनाएको छ । साथै, सामाजिक न्याय, समानता र समावेशितासहित समाजवाद निर्माणको आधार तयार पार्न जनताको सक्रिय सहभागिताका लागि आह्वान गरेको छ । ०००००
 

प्रतिकृया दिनुहोस