सामाजिक सञ्जालबाट अनलाइन ठगी बढ्दो
बिर्तामोड, २ कातिक ।
नेपालमा फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत अनलाइन सामान खरिद गर्ने उपभोक्ता ठगीमा पर्ने क्रम बढेको छ । सस्तो मूल्य र आकर्षक विज्ञापनको प्रलोभन देखाएर अग्रिम रकम असुल्ने र त्यसपछि सम्पर्कविहीन हुने प्रवृत्ति बढेको हो । पोखराकी सम्झना पण्डितले टिकटकमा देखिएको स्कर्ट खरिद गर्न दुई सय ५० रुपैयाँ डेलिभरी शुल्क पठाउँदा ठगिनुभयो । त्यस्तै, ललितपुरकी सिला खत्रीले इन्स्टाग्रामबाट सात हजार पाँच सय रुपैयाँको ऐना अर्डर गर्दा दुई हजार रुपैयाँ अग्रिम भुक्तानी गर्नुभयो। तर, उहाँले सामान पाउनुभएन ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०८१र८२ मा अनलाइन ठगीसम्बन्धी दुई हजार नौ सय ३९ उजुरी परेका थिए। गत आर्थिक वर्षमा भने आठ सय आठ उजुरी दर्ता भएका थिए । उजुरी घट्दैमा ठगीका घटना कम भएको भन्न नसकिने प्रहरीले जनाएको छ। उजुरी परेका घटनामध्ये करिब १० प्रतिशत पीडितले मात्रै रकम फिर्ता पाउने गरेका छन् ।
ठगीबाट बच्न अस्वाभाविक रूपमा सस्तो मूल्यका सामानको प्रलोभनमा नपर्न, विक्रेताको आधिकारिकता जाँच गर्न र सम्भव भएसम्म सामान प्राप्त भएपछि मात्र भुक्तानी गर्न प्रहरीले सुझाव दिएको छ । व्यवसायको दर्ता, सम्पर्क नम्बर र ठेगाना यकिन गर्न तथा निजी खातामा अग्रिम रकम पठाउनबाट जोगिन पनि आग्रह गरिएको छ।












प्रतिकृया दिनुहोस