पक्राउ पर्दैमा बचतकर्ताको रकम फिर्ता नहुने जीबी राईको वक्तव्य
काठमाडौँ, ३१ असोज ।
सहकारीको बचत रकम अपचलन प्रकरणमा फरार रहेका जीबी राईले अज्ञात स्थलबाट वक्तव्य जारी गर्दै आफू पक्राउ पर्दैमा बचतकर्ताको रकम फिर्ता नहुने बताउनुभएको छ ।
राईले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गएको रकमको जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई उक्त प्रकरणसँग जोड्नु उचित नभएको दाबी गर्नुभएको छ ।
ग्यालेक्सी टेलिभिजन लगायतका कम्पनीमा सहकारीको रकम लगानी गरिएको स्वीकार गर्दै उहाँले आर्थिक मन्दी, कोभिड महामारीपछिको प्रभाव र रुस–युक्रेन युद्धका कारण अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताउनुभएको छ ।
बचतकर्ताको रकम र ब्याज फिर्ता गर्ने उद्देश्यले लगानी गरिए पनि कम्पनीहरू धराशायी हुँदा समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।
राईले आफू कानुनी प्रक्रिया स्वीकार गर्न तयार रहेको उल्लेख गर्दै विभिन्न वैकल्पिक उपाय र सम्पत्तिको व्यवस्थापनमार्फत बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आफू जीवनभर लुकेर बस्न नचाहेको भन्दै उहाँले सरकारसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ ।
सहकारी संकटमा राज्यको व्यवहार र कमजोर नियमन प्रणाली पनि जिम्मेवार रहेको आरोप लगाउनुभएका राईले बचतकर्ताको रकम सुरक्षित गर्न सरकारले अघि बढाएका कदमको भने प्रशंसा गर्नुभएको छ । साथै, आफूले नगरेको कामका कारण पीडित भएका सहकारीका सञ्चालक, कर्मचारी तथा शुभेच्छुकसँग उहाँले क्षमायाचना गर्नुभएको छ । ०००००










प्रतिकृया दिनुहोस