प्रदेश लगानी सम्मेलनः ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

बिर्तामोड, १८ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताहरुलाई कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।
आज विराटनगरस्थित वीरेन्द्र सभागृहमा आयोजित कोशी प्रदेश लगानी सम्मेलन–२०२५ उद्घाटन गर्दै उहाँले शान्तिसुरक्षाको अवस्था राम्रो रहेकाले लगानीकर्ताले ढुक्क भएर उद्योग, व्यापारका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।
कोशी प्रदेशमा आवश्यक विकासका पूर्वाधार तयार भइसकेकाले लगानीकर्तालाई कुनै पनि असुविधा नहुने उहाँले बताउनुभयो । एसियाली मापदण्डमा पूर्व पश्चिम राजमार्ग स्तरोत्रति गरिरहेको उल्लेख गर्दै हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गले पनि लगानीकर्तालाई व्यापार, व्यवसाय विस्तार गर्न सहज हुने उहाँको भनाइ छ ।
आज अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै प्रधामन्त्री ओलीले भत्रुभयो, “सरकारले ‘आइएलओ’को सिद्धान्तलाई सर्वोपरि मानेको छ, त्यसैले यहाँ उद्यमी, श्रमिक र सरकारबीच कुनै झन्झट र विवाद छैन ।” कोशी प्रदेशमा धार्मिक, प्राकृतिक सम्पदा र शिक्षा एवं स्वास्थ्यका क्षेत्रमा लगानी गर्न उपयुक्त हुने धारणा उहाँले राख्नुभयो ।
देशको कुल गार्हस्थ उत्पादनमा कोशी प्रदेशको भूमिका अग्रणी रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले युवा विदेश होइन, अब स्वदेशमै उद्यमी बनेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उद्यमीका लागि ब्याज अनुदानभन्दा कम ब्याजमा ऋण उपलब्ध गराउन सकिने र ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न लगानी सम्मेलन कोशे ढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता आएको थोरै समयमा कोशी प्रदेशले पहिलो पटक लगानी सम्मेलन गरिरहेको र यसबाट राष्ट्रिय पुँजी निर्माण तथा रोजगारी सिर्जना हुने बताउनुभयो । उहाँले रु एक खर्बभन्दा बढी पुँजी परिचालन हुने लगानी सम्मेलनबाट लगानीकर्तामा उत्साह थपिएको बताउँदै स्वदेशी, गैरआवासीय, विदेशी लगानीकर्ता र प्रदेशले लाभ लिने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले आठ वटा क्षेत्रमा ७१ वटा परियोजना सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो । लगानीकर्ताको लगानी खेर जान नदिन नीतिगत प्रतिबद्धता सरकारले जनाइसकेको उहाँले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताहरु कोशी प्रदेशमा लगानी गर्न तत्पर रहेको जनाउँदै लगानी हुने स्थानमा स्थानीय तहदेखि राजनीतिक दलको सकारात्मक सहयोगको अपेक्षा गर्नुभयो । ०००००००
प्रतिकृया दिनुहोस