फ्रान्समा हिंसात्मक प्रदर्शन, १८०० भन्दा बढी पक्राउ

पेरिस, १ कात्तिक ।
फ्रान्समा मुद्रास्फीतिको विरोधमा भएका प्रदर्शन हिंसात्मक बनेपछि एक हजार आठ सयभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले आज सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रदर्शनका क्रममा प्रहरीसँग झडप, आगजनी, तोडफोड र लुटपाटका घटना भएको बताउनुभयो ।
पेरिस, मार्से, लियोन र बोर्डोलगायत सहरमा हिंसा भड्किएको थियो । अमेरिका–इरान द्वन्द्वका कारण बढेको मुद्रास्फीतिको विरोधमा भएका प्रदर्शनका क्रममा सार्वजनिक भवन र पसलहरूमा क्षति पुगेको छ । सयौँ पसल सञ्चालक प्रभावित भएको गृहमन्त्री नुनेजले जानकारी दिनुभयो ।
प्रदर्शनका क्रममा करिब पाँच सय प्रहरी, अग्निनियन्त्रक तथा आकस्मिक स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मी घाइते भएका छन् । घाइतेको सङ्ख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो ।
गृहमन्त्री नुनेजले हिंसा र तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाइने स्पष्ट पार्नुभएको छ । उहाँले सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने र लुटपाटमा संलग्न व्यक्तिलाई उन्मुक्ति नदिइने बताउनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस