एनपीएललाई आईसीसीको मान्यताले विदेशी स्टार खेलाडी ल्याउने बाटो खुल्यो
काठमाडौँ, ३१ असोज ।
नेपाल प्रिमियर लिग (एनपीएल) का पछिल्ला दुई संस्करणमा गरिएको कामका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई प्रभावित पार्न सफल भएको नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले एनपीएलले आईसीसीको स्वीकृति पाउनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । एक वर्षका लागि प्राप्त स्वीकृतिसँगै फ्रेन्चाइज टोलीले टेस्ट खेल्ने राष्ट्रका चर्चित खेलाडी भित्र्याउन सक्ने उहाँको विश्वास छ ।
खड्काका अनुसार आईसीसीको स्वीकृतिका लागि पेस गरिएको प्रस्तावमा टोलीमा ६ देखि ८ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था उल्लेख छ । एसोसिएट राष्ट्रको क्रिकेट प्रवद्र्धनका लागि एक खेलाडी समावेश गर्न सकिने प्रावधानसमेत रहेको उहाँले बताउनुभयो । तर, मैदानमा भने प्रत्येक टोलीले सात नेपाली र चार विदेशी खेलाडी उतार्न पाउनेछन् ।
सबै फ्रेन्चाइज टोली कम्तीमा दुई जना स्टार खेलाडी ल्याउने प्रयासमा रहेको जानकारी दिँदै उहाँले आईसीसीका प्यानल कमेन्टेटर ल्याउने तयारी भइरहेको पनि बताउनुभयो । एनपीएलमा निर्णय पुनरावलोकन प्रणाली अर्थात् डीआरएस राख्ने विषयमा भने अन्तिम निर्णय भइनसकेको उहाँको भनाइ छ ।
यसैबीच, त्रिवि क्रिकेट मैदानको पूर्वाधार स्तरोन्नति गरी दर्शक क्षमता करिब १२ हजार पु¥याउने लक्ष्य राखिएको छ । आगामी यू–१९ महिला विश्वकपको तयारीलाई समेत ध्यानमा राखेर मैदानको पूर्वाधार सुधार गरिएको क्यानले जनाएको छ । ०००००












प्रतिकृया दिनुहोस