युनिकम नेपालमा नयाँ नेतृत्व, चार बुँदे घोषणापत्र जारी

काठमाडौं, २३ बैशाख ।

नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल)ले श्रमिक र रोजगारादातासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने योजना अघि सारेको छ । 
श्रम कानुनर सामाजिक सुरक्षा योजना कार्यन्वायनमा जोड दिँदै रोजगारादाता र प्रतिष्ठानहरुसँगको मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धतासहित तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको हो ।
श्रम कानुन कार्यन्वायनलाई जोडतोडका साथ उठाएको तेस्रो महाधिवेशनले चार बुँदे घोषणापत्र समेत जारी गरेको छ । जारी घोषणा पत्रमा भनिएको छ– ‘तीनै तहका सरकारसँग समन्वयमा श्रमिक र रोजगारादाताबीच ऐन कार्यान्वयनका लागि सरोकारवाला पक्षलाई जिम्मेवार बनाउन यो महाधिवेशन माग गर्दछ ।’ नेपाल सरकारले लागु गरेको सामाजिक सुरक्षा योजना व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने समेत युनिकमले जारी घोषणा पत्रमा उल्लेख गरेको छ ।
बैशाख २१ र २२ मा सम्पन्न महाधिवेशनबाट गजेन्द्रबहादुर पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन भएको छ । नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा रविन शर्मा भुसाल, महिला उपाध्यक्षमा गोमा नेपाल, उपाध्यक्षमा चिरञ्जीवि पौडेल, महासचिवमा लेखनाथ दाहाल, उपमहासचिवमा रमन घिमिरे, सचिवमा मिनराज पौडेल र कोषाध्यक्षमा दुर्गाप्रसाद भट्ट निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सिता विक, सविता श्रेष्ठ, खेमकुमारी आचार्य, प्रदीप बञ्जरा, देवीराम तिवारी, जक्तबहादुर श्रेष्ठ, लेखनाथ गैरे, दिपक बाँस्तोला, इश्वरानन्द कर्ण, प्रदीप शाह र मोहनचन्द्र दाहाल निर्वाचित भएको नवनिर्वाचित महासचिव लेखनाथ दाहालले जानकारी दिनुभयो ।
समितिको कार्यकाल चार वर्षको हुने छ । महाधिवेशनमा प्रति ५० सदस्य बराबर १ जना प्रतिनिधि छनोट हुने र सोही प्रतिनिधिहरुको भेलाले नयाँ नेतृत्व चयन गर्ने बैधानिक व्यवस्था रहेको महासचिव दाहालले बताउनुभयो । हालसम्म युनिकम नेपालका ३५ जिल्ला समिति र सात वटै प्रदेश समितिहरु गठन भइसकेका छन् । मार्केटिङ, डिपार्टमेन्ट, थोक तथा खुद्रा, मेडिकल लगायत १० वटा विषयगत क्षेत्रमा आबद्ध कर्मचारीका संगठनहरू र ६ हजार भन्दा बढी सदस्य युनिकममा आबद्ध रहेको दाहालले बताउनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस