गठबन्धन भत्काउन देशी–विदेशी शक्ति सक्रिय : अध्यक्ष ओली

विर्तामोड, २१ बैशाख ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउन देशी–विदेशी शक्ति लागीपरेको बताउनुभएको छ । वर्तमान गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरु लागिपरेको अध्यक्ष ओलीको ठहर छ । 
पश्चिम नवलपरासीमा एमालेको नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । वर्तमान गठबन्धनले जनतालाई विकास र समृद्धिको बाटोतर्फ अगाडि बढाउने उल्लेख गर्दै अध्यक्ष ओलीले २०८४ को चुनावमा एमाले थप मजबुत बनेर आउने जिकिर गर्नुभयो ।
पार्टीभित्रको एकतालाई थप मजबुत बनाउन नेता र कार्यकर्तालाई निर्देशन दिनुभयो । जिल्ला अधिवेशन सहमतिको नाममा नलम्ब्याउन भन्दै नेतृत्वका लागि इच्छा भएका साथीहरुबीच लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न र सहमतिको नाममा अधिवेशन नलम्ब्याउन जिल्ला नेतृत्वलाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले आज नै जिल्लाको सुस्ताको नारायणी नदीमा निर्माणाधीन पुल, रामग्राम स्तुप र पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको गजेन्द्र मोक्ष धामको अवलोकन गर्नुभयो । जिल्लाभरिबाट ४ सय २६ प्रतिनिधि छनौट भएका छन् ।
एमालेको जिल्ला अधिबेशनले १ सय ५ जनाको जिल्ला कमिटी चयन गर्ने छ । वर्तमान अध्यक्ष दिपेन्द्र अधिकारी र सचिव धिरज शर्मा अध्यक्षका लागि आकांक्षी हुनुहुन्छ । ०००००
 

प्रतिकृया दिनुहोस